८ बैशाख २०८२, सोमबार

इलामको चुलाचुलीमा ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु

कोलोराडोखबर संवाददाता , January 28th, 2025

नेपाल । इलामको चुलाचुलीमा सोमबारदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ सुरु भएको छ । दुईदिने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन आयोजक चुलाचुली रङ्गमञ्चले ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेमोरियल माविले ‘ऊ जुनेली’, हेटौँडास्थित कलाक्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्चबुद्ध एकाडेमीले ‘मणि लुगा’ मञ्चन गरेका छन् ।

त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवाद भएको छ । चुलाचुलीको अमृत बोर्डिङ स्कुलले ‘द ल्यान्ड अफ मङ्की’, बालज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले मङ्गलबार ‘मौनताको कथा’ मञ्चन गर्ने आयोजकले जनाएको छ ।

सोही दिन कुलुङ भाषा संस्कृति उत्थान सङ्घ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपानी रङ्गमञ्च तथा नाटकको विषयमा अन्तरसंवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताउनुभयो ।

चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्लाबाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजकको एक नाटक मञ्चन हुने छन् । संस्थाका सचिव सन्तोष गिरीले समुदायसँग रङ्गमञ्चलाई जोड्दै स्थानीय ठाउँमा रहेका माटो, ढुङ्गा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्