१४ माघ २०८१, सोमबार

एनआरएनए स्वीडेनद्धारा अटिजम केयर सेन्टरलाई २ लाख ९५ हजार आर्थिक सहयोग

कोलोराडोखबर संवाददाता , January 25th, 2025

अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई एनआरएनए स्वीडेनले आर्थिक सहयोग गरेको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले दुई हजार पचाँस युरो (अनुमानित नेपाली रुपैयाँ दुई लाख ९५ हजार) बैंक मार्फत अटिजम केयर सेन्टरलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

“एक एनसीसी एक च्यारिटी” परियोजना मार्फत एनआरएनए एनसीसी स्वीडेनले नेपालमा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थालाई सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेनका अध्यक्ष गंगाप्रसाद घिमिरेले नेपालका गरिब, असहाय, अनाथ तथा अपाङ्गता बालबालिकाहरुको शिक्षा तथा व्यक्तित्व बृद्धिका लागि सहयोग गरेको बताउनुभयो ।

अध्यक्ष घिमिरेले अटिजमको समस्या विश्वभर रहेको र अझै नेपाल सरकारको सहयोग अटिजमको क्षेत्रमा अत्यन्त नगन्य मात्रामा भएको मुलुकमा थप समस्या रहेकाले अटिजमको क्षेत्रमा जुटेको संस्थालाई केही हदसम्म भएपनि सहयोग तथा हौसला प्रदान होस् भनेर सहयोग गरेको बताउनुभयो ।

त्यसैगरी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका महासचिब राजेन्द्र तामाङले एनसीसी स्वीडेनको कुनै पनि नियमित आयस्रोत नहुदाँ नहुदै पनि मातृभुमी प्रतिको माया, आस्था तथा अटिजम भएका बालबालिकालाई थोरै भएपनि सिकाई प्रक्रियामा गुणस्तरीयता बृद्धि तथा दैनिक हेरचाहमा सहजता होस् भन्ने उद्देस्यले अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरेका संस्थालाई सहयोग गरेको बताउँनुभयो ।

विदेशमा रहेर पनि स्वदेशमा मानवीय सेवाको क्षेत्रमा काम गरीरहेका संघसंस्था, व्यक्ति तथा समुदायलाई गैर आवासीय नेपाली संघले सहयोग गर्दै आएका छन् । राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम भएका बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको दैनिक व्यवहारिक सिकाई प्रक्रिया तथा शिक्षण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

महिला उत्प्रेरणा विकास मञ्चमा आवद्ध महिला सदस्यहरुले फजुल खर्च जम्मा गरी अटिजम भएका बालबालिकाहरुको हेरचाह तथा शिक्षण सिकाई प्रक्रियामा सहयोग होस भनेर सञ्चालन गरेको अटिजम केयर सेन्टरलाई विश्वास गरी एनसीसी राष्ट्रिय समन्वय परिषद, स्वीडेनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

संस्थाकी अध्यक्ष गीता कुमारी घिमिरेले आफुहरुले प्राप्त गरेको रकमबाट अभिभावक तथा शिक्षक÷शिक्षिकाहरुका लागि तालिम सञ्चालन गर्ने, बालबालिकाको दैनिक व्यवहार सिकाई प्रक्रियामा आवश्यक पर्ने शैक्षिक एवम् थेरापी सामान व्यवस्थापनमा खर्च हुने बताउँनुभयो ।

यस सेन्टरमा अहिले विभिन्न जिल्लाका १५ जना अटिजिम बालबालिका सिकाई प्रक्रियामा रहेका छन् । अटिजम केयर सेन्टरमा सबै अटिटिस्टक अभिभावकबाट सिकाई प्रक्रिया हुने गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्