६ माघ २०८१, आईतवार

नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पदः सांसद पाण्डे

कोलोराडोखबर संवाददाता , January 19th, 2025

अष्ट्रेलिया । नेकपा (एस) का केन्द्रीय नेता तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिसा लिनुपर्ने विषय हाँस्यास्पद रहेको बताएका छन् । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश गलत ढंगबाट ल्याइएको उनले टिप्पणी गरे ।

आफू पनि सहभागी भएर बनाइएको गैरआवासीय नेपालीसम्बन्धी कानुनमा राजनीतिबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने व्यवस्था स्पष्ट उल्लेख भएको उनले बताए । गलत बाटोबाट ल्याइएको अध्यादेश पारित हुनेमा उनले शंका व्यक्त गरे ।

शनिबार अस्ट्रेलियाको सिड्नीमा प्रवासी नेपाली एकता मञ्चले आयोजनामा गरेको अन्तरक्रियामा सांसद पाण्डेले सत्तासाझेदार दलबीच पनि समझदारी नगरी ल्याइएको अध्यादेश पारित नहुने जिकिर गरे ।

उनले एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया नबन्ने बताए । “विदेशमा बसेर नेपालमा केही भएन भन्ने बहस बन्द गर्नुहोस्, सबै देशका आआफ्ना विशेषता छन्,” उनले भने, “एकैपटक नेपाल अमेरिका र अस्ट्रेलिया बन्दैन । तर, नेपालमा पनि धेरै प्रगति र उन्नति भएका छन् ।”

कार्यक्रममा एनएसडब्ल्यूका वाणिज्यदूत सञ्जीव शर्माले काउन्सिलरलाई अधिकारसम्पन्न बनाइए अस्ट्रेलियाजस्तो ठूलो देशमा पासपोर्ट र अरू सरकारी कार्य सहज हुने बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय नेपाली एकता मञ्चका अध्यक्ष ध्रुव सुवेदी, गैरआवासीय नेपाली संघका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका सल्लाहकार दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्वअध्यक्षहरू सुरेन्द्र सिग्देल, नन्द गुरुङ, सामाजिक अभियन्ताहरू तीर्थ कार्की, सुवांश शाह, बाबुराम गौतमलगायतले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेशको खुलेर विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्