१९ मंसिर २०८१, बुधबार

एनआरएनएद्वारा भूकम्प प्रभावितका लागि एक करोड १० लाखको राहत कोष स्थापना

कोलोराडोखबर संवाददाता , November 7th, 2023

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नोभेम्बर ४ का दिन बसेको आपतकालीन बैठकले भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत  तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

१० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री प्रभावित स्थानमा वितरण गर्ने निर्णय भएको हो ।

अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरी पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यान्न तथा लत्ताकपडा वितरण निर्णय भएको महासचिव गौरीराज जोशीले जानकारी दिए ।

कोषाध्यक्ष सुदन थापाको संयोजकत्वमा राहत कोष संकलन समिति गठन गरिएको र संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष र क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ ।

संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका  लागि सक्रियतापूर्वक काम सुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्